पर्वत

ईतिहासका पन्नामा नजर डुलाउँदा राजा मलेबमका पालामा शक्तिशाली चौविसे राज्य पर्वत उत्तर भोट देखि दक्षिण गुल्मी र गल्कोट पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भयो । त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्य वि.सं. १८४४ मा नेपाल राज्यमा विलय भएको थियो । (नेपालको ईतिहास) यसरी पुरानो ईतिहास अध्ययन गर्दाको पर्वत र वर्तमान पर्वत जिल्लाको तुलनात्मक दृष्टिमा सानो सिमानामा नियन्त्रित भएको छ । क्षेत्रफलको हिसाबले नेपालको राजधानी काठमाडौं, ललितपुर र भक्तपुर पछिको चौथो सानो जिल्लामा सिमित पर्वतको कुल क्षेत्रफल ४९४ व.कि.मि. केन्द्रिय तथ्याङ्क विभागका अनुसार रहेको छ ।

भौगोलिक अवस्थितिको हिसावले २७.५८’ देखि २८.३९’ उत्तरी आक्षांश र ८३.३४” देखि ८३.५९” पुर्वी देशान्तरमा रहेको हाम्रो जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत धौलागिरी अञ्चलमा पर्दछ । यसका निकट एवं जोडिएका जिल्लाहरुमा पूर्वमा कास्की र स्याङ्जा, पश्चिममा बाग्लुङ्ग र म्याग्दी, उत्तरमा म्याग्दी र दक्षिणमा स्याङ्जा र गुल्मी रहेकाछन् । विकासको दृष्टिले भर्खर कोल्टे फेर्दै गरेको हाम्रो जिल्ला विगतको द्धन्दको पिडाबाट मुक्त भने रहन सकेन । निर्वाचन क्षेत्र २, गाविस संख्या ५५, इलाका संख्या ११२, वार्ड संख्या ४९५ रहेको पर्वतका भौतिक विकासको गति अली मन्दै देखिन्छ ।